सैनिक श्रीमती संघको वार्षिकोत्सव सम्पन्न

१. सैनिक श्रीमती संघ (नेपाली सेना) को ४१ औं वार्षिकोत्सव आज मिति २०८१ कार्तिक २२ गते जङ्गी अड्डामा बिविध कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले विधिवत रुपमा पूजा अर्चना तथा झण्डोत्तोलन गर्नुका साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरुका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

२. सोही अवसरमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल र संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले संघको वार्षिक मुख पत्र सेवा सुमन को संयुक्त रुपमा विमोचन गर्नुभई प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकहरुलाई पुरस्कृत गर्नु भएको थियो । साथै सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।

३. वि.सं. २०४० साल कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ, सैनिक परिवारको हित र विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको छ । 

४. उक्त कार्यक्रममा रथीवृन्द, संघका पूर्व अध्यक्षज्युहरु, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्र छात्राहरू लगायत अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।