प्रधान सेनापति ट्रफि-२०८१ सम्पन्‍न

१. मिति २०८१ भाद्र ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि-२०८१ खेलकुद प्रतियोगिता आज मिति २०८१ आश्‍विन १५ गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा समापन भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरू सहभागी थिए । 

२. उक्त प्रतियोगिताको समग्रमा श्री उपत्यका पृतना प्रथम, श्री नं.१६ बाहिनी द्वितीय र श्री विशेष फौज बाहिनी तृतीय भएका छन् । यसैगरी गणतर्फ श्री पुरानो गोरख गण प्रथम, श्री जगदल गण र श्री भैरवनाथ गण समान अंकका साथ द्वितीय भएका छन् ।

३. जंगी अड्डाको खेल मैदानमा सम्पन्‍न समारोहमा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले प्रतियोगितामा प्रथम श्री उपत्यका पृतना तथा गणहरू मध्य प्रथम श्री पुरानो गोरख गणलाई ट्रफि, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कृत गर्नु भयो । त्यसैगरी सोही अवसरमा प्रधान सेनापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्‍विल चियर खेल प्रतियोगिता लगायत अन्य खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने ११ जना खेलाडीहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भयो । 

४. त्यसैगरी, प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरुलाई पूर्व प्रधान सेनापतिहरुले पुरस्कृत गर्नु भयो । साथै वर्षभरीमा उत्कृष्ट खेलाडीको रुपमा छनौट भएका महिला र पुरुष खेलाडी १/१ जनालाई प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. अजेयबल ट्रफिद्वारा पुरस्कृत गरिएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न विधाहरुमा विजेता भएका खेलाडीहरुलाई अतिरथी निर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

 ५. समारोहमा पूर्व प्रधान सेनापतिहरू, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्‍न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, नेपाल प्रहरीका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

६. समापन समारोहमा भएको कालीशक्ति गण (ई) र भैरवनाथ गणबिचको फाइनल फुटबल खेलमा कालीशक्ति गण (ई) २-१ ले विजयी भएको थियो । 

७. साथै उक्त समारोहमा सैनिक तालिम महानिर्देशक उपरथी श्री ध्रुव प्रकाश शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।