१. जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक २०८१ को आज मिति २०८१ आश्विन १५ गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले समापन गर्नु भएको छ ।
२. दुई दिनसम्म सञ्चालन भएको उक्त बैठकको पहिलो दिन मिति २०८१ आश्विन १४ गते पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु भएको थियो भने दोस्रो दिन आज मिति २०८१ आश्विन १५ गते जङ्गी अड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूले आ-आफ्नो जिम्मेवारी अनुरूपको प्रस्तुतीकरण, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु भएको थियो ।
३. बैठकको समापनका अवसरमा सहभागीहरूलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापतिले विभागीय प्रमुख, पृतनापति लगायत सम्बन्धित सबै तहका कमान्डरहरूलाई अपरेशनल क्षमताको विकास, उच्च तयारीपन तथा अपरेशनल प्रभावकारिता वृद्धि हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनु भयो । उहाँले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिँदै सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापन अभिवृद्धिमा जोड दिन निर्देशन दिनु भयो ।
४. बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था, नेपाली सेनाको Vision 2030 कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरूको प्रभावकारिता लगायतका विषयमा छलफल भएको थियो ।
५. नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आइरहेको छ । यस वर्षको पहिलो बैठकको समापनका अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरू, पृतनापतिहरू, निर्देशक एवं वाहिनीपतिहरु लगायत अधिकृतहरुको उपस्थिति थियो ।