सफा हिमाल अभियान 2024 को FLAG-OFF CEREMONY सम्पन्न

१.   जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने  सफा हिमाल अभियान, २०२४ आज मिति २०८० चैत्र २९ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बिच Flag-off Ceremony सँगै थालनी भएको छ । 

२.    समारोहमा प्रधान सेनापति महारथी श्री शर्माले Campaign Leader सेनानी आदित्य कार्कीलाई Campaign Flag हस्तान्तरण गर्दै पर्वतीय पर्यावरण सुरक्षा एक सार्वजनिक महत्त्वको विषय भएकोले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने कुरा बताउनु भयो । पर्यावरण सुरक्षामा करिब ५ दशकको सक्रिय सहभागिता एवम् सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभवहरू र यस वर्षको विस्तृत र व्यावहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधान सेनापतिले यस अभियानको सफलता फोहोर सङ्कलनको मात्राले मात्र नभई अभियानमार्फत प्रसारित हुने सचेतना र त्यसले ल्याउने बृहत् सहभागिताले निर्धारण हुने विचार व्यक्त गर्नुभयो ।

३.   हिमाल सफाइ अभियानका निर्देशकले अभियानको जानकारी प्रस्तुत गरेर सुरु भएको उक्त समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । समारोहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पर्यटन विभागका महानिर्देशकहरु, रथीवृन्द, अधिकृत, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरू, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, सफा हिमाल अभियान, २०२४ का साझेदार संघसंस्थाका पदाधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

४.    नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्वु पासाङ्ग ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, Everest Link, Avni Venture, Expedition Operator Association आदी संघसंस्थाहरुको प्राविधिक सहयोग रहेको छ ।

५.    AN ENDEAVOUR TO SAVE THE HIMALAYAS भन्ने मूल Theme का साथ सञ्चालन हुने उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा ५ वटा मानव शव व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।

६.    करिब ३ हप्ताको प्रि-डिप्लोइमेन्ट तथा एक्लिमटाईजेशन तालिम सम्पन्‍न गरिसकेको सफाइ टोली वैशाख ०२ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरी करिब ५० दिनको कार्य योजना अनुसार सफाइको कार्यमा संलग्न रहनेछ । सङ्कलित फोहरहरू मध्ये सड्ने फोहरहरु स्थानीय निकायहरुलाई र नसड्ने फोहरहरू recycle गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।