अभ्यास शान्ति प्रयास सुरु

१. आज मिति २०८० फाल्गुण ०८ गते जङ्गी अड्डा अगाडीको खेल मैदानमा आयोजित एक विशेष समारोहका बिच शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण सुरु भएको छ । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालद्वारा पानसमा बत्ती बालेर शुभारम्भ भएको उक्त अभ्यास आगामी फाल्गुण २१ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन हुनेछ । अभ्यास शान्ति प्रयास-४ संयुक्त राज्य अमेरिकी सरकारको Global Peace Operation Initiative (GPOI) को सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजना हुन लागेको हो । 

२.    नेपाल समेत १९ देशका ११२५ जनाको सहभागिता रहने अभ्यासको समुद्‍घाटनसँगै समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीले सहभागी राष्ट्रहरूलाई अभ्यासमा सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रयासहरूमा देखाएको समर्पण र प्रतिबध्दताको प्रशंसा गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक र प्रहरी उपलब्ध गराउने देशहरूमा नेपाल अहिले शीर्ष स्थानमा रहेको र आवश्यक परेमा १० हजारसम्म फौज उपलब्ध गराउन प्रतिबध्द रहेको बताउनु भयो । 

३. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले कार्यक्रममा मन्तव्य राख्‍नुहुँदै नेपालले सन् २००२, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका तीन वटा संस्करणहरु सञ्चालन गरिसकेको वताउनु  भयो । उहाँले संयुक्त राष्ट्रसंघको कार्यादेश अनुरुप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरु बिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यवसायिकता अभिबृध्दिमा अभ्यास फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

४.    कार्यक्रममा संयुक्त राज्य अमेरिकाकी Deputy Assistant Secretary Rachel Schiller ले नेपालले विभिन्न शान्ति मिसनहरुमा शान्ति सैनिकहरू खटाई विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालमा चौथो संस्करणको अभ्यास शान्ति प्रयास सञ्चालन हुनुले नेपालको विश्व शान्ति प्रतिको प्रतिवध्दता अझ उजागर गरेको उल्लेख गर्नुभयो ।

५. कार्यक्रममा सहभागी राष्ट्रहरूको Flag Display, Fly Past, व्याण्ड डिस्प्ले र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

६.    अभ्यासमा बङ्गलादेश, फिँजी, घाना, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, नेपाल, श्रीलङ्का, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भियतनामका सैनिकहरू सहभागी छन् ।

७.    समुद्‍घाटन कार्यक्रममा माननीय उप प्रधानमन्त्री एवं गृह मन्त्री श्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव डा. श्री बैकुण्ठ अर्याल, पूर्व प्रधान सेनापतिहरु, विभिन्न मन्त्रालयका सचिवहरू, महामहिम राजदूतहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सैनिक सहचारीहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।