१. विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीय स्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको छैठौँ संस्करण जङ्गी अड्डामा आज मिति २०८० माघ २४ गते सुरु भएको छ ।
२. नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृध्दि र सरोकारवाला निकायहरू बिच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले वि.सं.२०७५ सालबाट वार्षिक रूपमा अभ्यास हातेमालो सञ्चालन हुँदै आई रहेको छ ।
३. अभ्यासको समुद्घाटन गर्दै बलाधिकृत रथी श्री अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायहरू बिच एकीकृत एवं समन्वयात्मक रूपमा कार्य गर्न अभ्यास उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले अभ्यास हातेमालोले विपद् प्रतिकार्यसँग सम्बध्द निकायहरू बिचको एकता र व्यवसायिक क्षमता अभिवृध्दि गर्न टेवा पुग्नुको साथै समग्रमा विपद् प्रतिकार्य क्षमतालाई थप सशक्त तुल्याउन मद्दत पुग्ने बताउनु भयो ।
४. कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकायहरु, रेडक्रस लगायत गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।