१. नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले उत्तरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा कार्यरत विभिन्न सञ्चारगृहहरूमा आबद्ध १९ (उन्नाईस) जना सञ्चारकर्मीहरूको सहभागितामा ३ (तीन) दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) आज मिति २०८० माघ १६ गते श्री नं. ४ वाहिनी अड्डा, इमामनगर व्यारेक, नेपालगन्जमा सुरु भएको छ ।
२. कार्यक्रमको थालनी गर्दै उत्तरपश्चिम पृतनापति उपरथी श्री कृष्णदेव भट्टले समग्र सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूबाट नेपाली सेनालाई भइरहेको सहयोग, सद्भाव र समन्वयका लागि आभार प्रकट गर्दै राष्ट्र, राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय एकता, विकास र शान्तिका लागि सेना र सञ्चार जगत् बिच मर्यादित एवम् व्यवसायिक सम्बन्ध कायम भईरहनु पर्ने बताउनु भयो ।
३. अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । सहभागीहरूलाई बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको भ्रमण गराउने योजना रहेको छ । आज आयोजित कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।