कमाण्डिङ्ग अफिसर ओरिएण्टेशन कार्यक्रमका सहभागीहरुलाई प्रधान सेनापतिको सम्बोधन

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नेपाली सेनाको कुनैपनि तहको कमाण्ड भन्नु जागिर, वा अधिकारको कुरा नभइ सेवाभावका साथ अत्यन्त संवेदनशिल भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको कुरा बताउनु भएको छ । गण तथा गुल्महरुको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरुका लागि सञ्चालित Commanding Officers Orientation Programme का सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापतिले उक्त कुरा बताउनु भएको   हो । त्यस अवसरमा उहाँले वर्तमान अन्तराष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिहरुको संक्षिप्त चर्चा गर्दै तिनले नेपालको राष्ट्रिय सुरक्षा लगायत राष्ट्रहितका विविध क्षेत्रमा परिरहेको र पार्न सक्ने असरहरुका साथै नेपाली सेनाको दायित्वका बारेमा प्रकाश पार्नुभयो । प्रधान सेनापतिले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायहरुमाझ सम्बन्धित युनिटहरुले समग्र संस्थालाई प्रतिविम्वित गर्ने कुरा उल्लेख गर्दै आम नेपालीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्‍न मुख्य भूमिकामा रहेका युनिट कमाण्डरहरु लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिनुभयो ।

२. नेपाली सेना मुलुकको संविधान, विधि, पध्दति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवध्द रहेको कुरा बताउनु हुँदै प्रधान सेनापतिले ‘‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिवध्द रहेको’’ कुरा बताउनु भयो । पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरुको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारवाहीहरु, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भैरहेको तर्फ सकलदर्जालाई सचेत रहन निर्देशित गर्दै प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पध्दति तथा प्रकृया विपरित कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘असंख्य सिपाहीहरुको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिध्द गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरुको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन।’’ प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीको बिचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भै विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत रहेको कुरा बताउनुभयो ।

३. रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्‍वारहरुको उमेर, शैक्षिक योग्यता आदीलाई विषयबस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्नुहुँदै प्रधान सेनापतिले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरु आवश्यकता अनुसार सम्बध्द निकायहरुबाट यकीन गरेर मात्र जङ्गी अड्डाले कारवाही अघि बढाउने गरेको उल्लेख गर्नुभयो । प्रधान सेनापतिले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केहि पदाधिकारीहरुको कागजात शंकास्पद देखिएकोले कारवाही गर्न सिफारिस गरेको उदाहरण पनि दिनुभयो । प्रधान सेनापतिले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने कुरा बताउँदै स्वस्थ प्रतिष्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई सुझाव दिनुभयो । उहाँले नेपाली सेनामा सरुवा, बढुवालगायत वृत्तिविकास सम्बन्धी कार्यहरुका क्रममा गुनासो वा उजुरी गर्ने बैधानिक निकायहरु रहेको र यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बध्द सबैलाई सचेत तुल्याउनु भयो ।

४. जङ्गी अड्डामा आयोजित आजको कार्यक्रममा जङ्गी अड्डा र नजिकका निकायहरुमा कार्यरत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।