१. आज मिति २०८० मंसिर १२ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेको भारतीय National Cadet Corps (NCC) को प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ । त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले Youth Exchange Programme (YEP) का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए ।
२. मिति २०८० मंसिर ०५ गते नेपाल आइ पुगेको भारतीय NCC टोली मिति २०८० मंसिर १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । YEP मा भारतीय NCC का छात्र छात्राहरू १६ जना र राष्ट्रिय सेवा दल, नेपालका छात्र छात्राहरू ४ जना सहभागी छन् ।
३. नेपालमा वि.सं.२०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६,७७६ (छैसठ्ठी हजार सात सय छयहत्तर) जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् । यस वर्ष उक्त तालिममा ७,७०४ (सात हजार सात सय चार) जना छात्र छात्राहरू सहभागी भई रहेका छन् ।
४. वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल YEP मा सहभागी हुँदै आएको छ भने वि.सं.२०५६ सालबाट नेपालमै YEP आयोजना गर्न थालिएको हो । यस कार्यक्रम अन्तरगत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा ४२३ जना क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।
५. यसपटक नेपाल भ्रमणमा आएको भारतीय टोलीले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा सहभागी हुनुको साथै काठमाडौँ उपत्यका र वरपरका इलाकाहरूको भ्रमण गरेको थियो । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत YEP मा सहभागी दुवै देशका छात्र छात्राहरूको उपस्थिति थियो । त्यस अवसरमा NCC क्याडेटहरुसँग कुराकानी गर्दै प्रधान सेनापतिले नेपाल-भारत बिचको बहु आयामिक सम्बन्धलाई सुमधुर बनाइराख्न यस किसिमको Exchange Programme ले पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।