१. आज मिति २०८० श्रावण १२ गते माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवा अन्तर्गत श्री मध्य एयर वेशको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई मध्य एयर वेशमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।
२. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी श्री आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थिति लगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराउनु भएको थियो । सोही अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले मध्य एयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्वपूर्ण उपकरणहरुको अवलोकन गर्नुभयो । त्यस अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माण लगायतका क्षेत्रहरुमा सम्पादन भएका कार्यहरुको उच्च प्रशंसा गर्नु हुँदै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशन समेत दिनुभयो ।
३. भ्रमणकै क्रममा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५ औं बैठक समेत सम्पन्न भएको छ ।
४. त्यस अवसरमा रक्षा सचिव श्री किरणराज शर्मा, बलाधिकृत रथी श्री सरोज प्रताप राणा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालय तथा अर्थ मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरु लगायत सैनिक हवाई सेवाका अधिकृतहरुको उपस्थिति थियो ।