“सफा हिमाल अभियान-२०२३” सम्पन्‍न

१. मिति २०७९ चैत्र १४ गते शुरु भएको सफा हिमाल अभियान, २०२३ आज मिति २०८० जेठ २२ गते समापन भएको छ । 

२. यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाई कार्य भएको   थियो ।  उक्त अभियानबाट ३५ हजार के.जी. फोहोर संकलन गर्ने लक्ष्य लिईएकोमा सगरमाथा तथा  ल्होत्से हिमालबाट १३,६२१ के.जी., अन्नपूर्ण हिमालबाट ३,५६७ के.जी. र बरुञ्‍चे हिमालबाट १८,५२० के.जी. गरि जम्मा ३५,७०८ के.जी. फोहोर संकलन गरिएको थियो । संकलित फोहोरहरु मध्ये Bio-degradable फोहोर स्थानीय निकायहरुलाई हस्तान्तरण गरिएको थियो भने Non Bio-degradable फोहोर Waste Management Company “Creation Ventures Pvt Ltd” लाई हस्तान्तरण गरिएको थियो ।

३. अभियानको समापनका अवसरमा जंगी अड्डामा आयोजित Flag In Ceremony लाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले सफा हिमाल अभियान २०२३ सफल पार्न प्रत्यक्ष र परोक्ष रुपमा योगदान दिने वन तथा वातावरण मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका सरकारी निकायहरु एवं गैर सरकारी संघसंस्थाहरु, बिभिन्न क्षेत्रसँग सम्बध्द महानुभावहरु तथा संचार जगतलाई धन्यवाद ज्ञापन गर्नुभयो । यो अभियान वातावरण संरक्षणको क्षेत्रमा नेपाली सेनाको संलग्नताको सानो उदाहरणका रुपमा रहेको कुरा उल्लेख गर्दै प्रधान सेनापतिले सम्बद्ध सबैको साथ, सहयोग लिएर भविष्यमा पनि प्रकृति तथा वातावरण संरक्षणका प्रयासहरुमा नेपाली सेना निरन्तर संलग्न रहने कुरा बताउनुभयो ।

४. प्रधान सेनापतिले अभियानमा संलग्न दुईजना शेर्पा सहयोगीहरुको निधन भएकोमा दु:ख ब्यक्त गर्दै उहाँहरुका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । दिवङ्गत शेर्पा सहयोगीहरुको योगदानको कदरस्वरुप उहाँहरुका एक/एक जना सन्ततीलाई नेपाली सेनाले कक्षा १२ सम्म नि:शुल्क पठनपाठनको व्यवस्था मिलाउने घोषणा गर्नुभयो । उहाँले सफा हिमाल अभियान तथा आरोहणको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अशक्त अवस्थामा रहेका आरोहीहरुलाई उद्धार गर्न सहयोग गर्ने महानुभावहरु तथा उपचारमा सहयोग पुर्‍याउने नेपाल तथा भारतका चिकित्साकर्मी लगायत सम्बध्द सबै प्रति आभार प्रकट गर्नुभयो । 

५. कार्यक्रममा प्रधान सेनापतिले अभियान सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ/संस्था, सेवा प्रदायक कम्पनी र व्यक्तिहरुलाई प्रमाण-पत्र वितरण गर्नु भएको थियो । सोही क्रममा, उहाँले सफा हिमाल अभियान तथा आरोहणमा संलग्न नेपाली सेनाका सकलदर्जा तथा सहयोगी भूमिका निभाउनु भएका विभिन्न संघसंस्थाका १० जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको थियो ।

६. नेपाल सरकारको प्राथमिकतामा रहेको यस अभियानमा सम्बध्द मन्त्रालयहरु, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रा.लि., युनिलिभर नेपाल, संयुक्त राष्ट्रसंघ संघीय विकास कार्यक्रम (UNDP), विश्व वन्यजन्तु कोष (WWF) नेपाल, नेपाल पर्वतारोहण संघको आर्थिक सहयोग रहेको थियो । यसैगरि हिमालय उद्धार संघ, Rotary Club of Nagarjun, Everest Link, अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल, खुम्बु पासाङ्ग ल्हामु गाउँ पालिका, महाकुलुङ्ग गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति लगायतको बिबिध सहयोग रहेको थियो । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्‍चालन गर्दै आएको छ ।

७. श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय तथा अभियानका निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको आजको कार्यक्रममा बौद्ध धर्म गुरु ङवाङ लोजाङ यसी ग्याछोक रिन्पोचेले शान्तिको कामना गर्दै मन्त्रोच्चारण तथा प्रार्थना गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुरेश कुमार अधिकारीले सफा हिमाल अभियानका सहभागीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु हुँदै हिमालयको स्वच्छता नेपालको वातावरणीय र पर्यटनको बिकासका लागि अत्यावश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । आजको कार्यक्रममा नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष श्रीमती रोशनी अधिकारी तथा सबै महादेशका उच्च हिमाल आरोहण गर्नुभएका पर्यटन ब्यवसायी श्री लाक्पा सोनाम शेर्पाले पनि हिमाल सफाइको अपरिहार्यताका बारे आ-आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।     

८. समारोहमा रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, बलाधिकृत एवम् बलाध्यक्ष लगायतका रथीवृन्द, स्थानीय निकायका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, पर्वतारोहण र विविध क्षेत्रका व्यक्तित्वहरु, सफा हिमाल अभियान २०२३ का साझेदार संघसंस्थाहरुका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिती थियो । कार्यक्रममा Campaign Leader हरुले प्रधान सेनापति समक्ष अभियानमा प्रयुक्त झण्डा हस्तान्तरण गरेका थिए ।

९. यस अभियानमा संलग्न नेपाली सेनाका ५ जनाले सगरमाथा र ४ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।