१. विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ मिति २०८० जेठ ०७ गतेबाट जङ्गी अड्डामा सञ्चालन भएको दुई दिवसीय अभ्यास हातेमालो-५ आज मिति २०८० ज्येष्ठ ०८ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा समापन भएको छ ।
२. अभ्यासको समापनका दौरान सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापतिले विपद्को समयमा आवश्यक प्रभावकारी समन्वय र सहकार्यका लागि यस किसिमको अभ्यासहरुको महत्वपूर्ण भूमिका रहने र यसलाई प्रदेश र स्थानीय निकायसम्म सञ्चालन गर्ने प्राथमिकता नेपाली सेनाको रहेको बताउनु भयो ।
३. उहाँले व्यवसायिक कर्तव्य र जिम्मेवारीका साथ साथै समृद्धिको बाधकको रुपमा आईपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने वास्तविकताका बीच यस प्रकारको अभ्यास र अन्तरक्रियाले राज्यले अवलम्बन गरेका नीति र कार्य योजनालाई यथार्थमा परिणत गर्दै विपद् व्यवस्थापन गर्न सक्षम राष्ट्र बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
४. मन्तव्यकै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री अनिल पोखरेलले यस किसिमको समन्वयात्मक सहकार्यले विपद् प्रतिकार्यमा थप योगदान पुग्ने कुरामा दुई मत नरहेको र जनधनको क्षतिलाई न्यूनीकरण गर्न हालको कमाण्ड तथा रेस्पोन्स प्रणालीलाई अझै चुस्त र दुरुस्त बनाउँदै लैजानु पर्ने कुरा समेत व्यक्त गर्नुभयो ।
५. यस बर्ष मनसुनको समयमा हुन सक्ने बाढी र पहिरोको परिदृश्यमा आधारित रहि संचालन भएको दुई दिवसीय केन्द्रिय स्तरको अभ्यास हातेमालो-५ मा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, विभिन्न मन्त्रालय तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, UN Agency का प्रतिनिधिहरुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायका प्रतिनिधिहरु लगायतका सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।