प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ कार्तिक १७ गते महोत्तरी जिल्ला, बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हे.क्वा. तथा बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हे.क्वा. तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजना तथा बाहिनी अड्‍डाको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त पृतना हे.क्वा. तथा बाहिनी अड्‍डाका सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

२. आजै, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त COB मा तैनाथ सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनु भएको थियो । 

३. रक्षा सचिव श्री किरणराज शर्मा, गृह सचिव श्री विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक श्री धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक श्री राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापाको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माले महोत्तरी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।