संयुक्त राष्ट्रसंघ दिवस (UN DAY) को अवसरमा नेपाली सेनाद्वारा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

१. संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप आज मिति २०७९ कार्त्तिक ०६ गते (तदानुसार 23 October, 2022) जङ्गी अड्‍डामा नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीको प्रमुख आतिथ्यमा "Emerging Capability Requirements in UN Peace Operations and Way Forward" विषयक एक दिने अन्तर्राष्ट्रिय सेमिनार संचालन भएको छ । मुख्य सचिव बैरागीले समुद्‍घाटन गर्नु भएको उक्त सेमिनारको प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समापन गर्नु भएको थियो ।

२. प्रधान सेनापति महारथी शर्माको स्वागत मन्तव्य सहित प्रारम्भ भएको उक्त सेमिनारमा प्रमुख अतिथि मुख्य सचिव बैरागीले समुद्‍घाटन मन्तव्य राख्नु भएको थियो । साथै, उक्त सेमिनारमा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदान तथा उपलब्धिहरु समेटी तयार पारिएको कफि टेबल बुकको प्रधान सेनापति महारथी शर्मा र विशेष अतिथिको रुपमा पाल्नु भएका संयुक्त राष्ट्रसंघ मुख्यालयको Office of Military Affairs का सैनिक सल्लाहकार General Birame Diop ले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।  

३. उक्त सेमिनारको उद्‍घाटन सत्रमा मन्तव्य राख्नु हुँदै मुख्य सचिव बैरागीले नेपाली सेनालाई संयुक्त राष्ट्रसंघ स्थापना दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघका विज्ञ स्वदेशी तथा विदेशी सम्मिलित अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले संयुक्त राष्ट्रसंघ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसंघमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराउनुभयो । सोही क्रममा उहाँले सन् १९५५ बाट संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै संयुक्त राष्ट्रसंघ नेपालको विकासका लागि एक महत्वपूर्ण साझेदारको रुपमा रहेको तथा संयुक्त राष्ट्रसंघ र यसका एजेन्सीहरुले अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासहरुमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।

४. मन्तव्यकै दौरान मुख्य सचिव बैरागीले नेपालद्वारा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापना कार्यमा महत्वपूर्ण सहभागिता र योगदानमार्फत विश्व शान्ति कायम गराउन नेपाली शान्ति सैनिकहरु एकदमै छोटो जानकारीमा नै विना कुनै हिचकिचाहट संसारका ज्यादै चुनौतीपूर्ण परिस्थिति तथा स्थानहरुमा खटिई आफुलाई व्यवसायिक, दक्ष, समर्पित र भरपर्दो शान्ति सैनिकको रुपमा ख्याती र प्रतिष्ठा कमाउन सफल रहेको उल्लेख गर्दै भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरुको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई महिला शान्ति सैनिकहरुको संख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसंघको आवश्यकता अनुसार १०,००० (दश हजार) जनासम्म शान्ति सैनिकहरु खटाउन नेपाल सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो । सोही क्रममा उहाँले विश्व शान्ति स्थापनार्थ हाल नेपाल तेस्रो ठूलो फौज खटाउने मुलुक रहेको तर सिमित मात्रामा नेतृत्व तहमा सहभागीता रहेको हुँदा भविष्यमा त्यस्तो सहभागिता वृद्धि हुन जरुरी रहेको बताउनुभयो। मन्तव्यकै क्रममा उहाँले विश्व शान्ति स्थापनार्थ शाहदत प्राप्त गर्ने शान्ति सैनिकका परिवारहरु प्रति समवेदना प्रकट गर्दै घाइते शान्ति सैनिकहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नु भएको थियो । 

५. उक्त सेमिनारमा स्वागत तथा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी शर्माले उक्त सेमिनारमा भाग लिन पाल्नु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अतिथि महानुभावहरुलाई हृदयदेखि कृतज्ञता जाहेर गर्दै हार्दिक धन्यवाद दिनु भयो । उहाँले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने वीर शान्ति सैनिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौतिका बावजुद सदैव आफूलाई अब्बल सावित गरी अन्तराष्ट्रिय जगतमा ख्याती कमाउन सफल भएको उल्लेख गर्नुभयो ।

६. स्वागत मन्तव्यकै क्रममा प्रधान सेनापति महारथी शर्माले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको ६ दशक लामो सक्रिय संलग्नतामा नेपालले सदैव दक्ष, व्यवसायिक तथा विशेषज्ञ शान्ति सैनिकहरु प्रदान गर्दै आईरहनुका साथै संयुक्त राष्ट्रसंघको "लैङ्गिक समानता रणनीति-२०२८" अनुरुप पछिल्ला केही वर्षहरुमा महिला शान्ति सैनिकहरुको सहभागितामा वृद्धि गर्नुका साथै भविष्यमा समेत उक्त वृद्धि जारी रहने उल्लेख गर्नुभयो । उहाँले नेपाली सेनाबाट संयुक्त राष्ट्रसंघ दिवसको विशेष कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उक्त विशेष कार्यक्रम अन्तर्गत "Emerging Capability Requirement in UN Peace Operations and Way Forward" विषयमा आधारित उक्त सेमिनार भव्यताका साथ सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल सरकारका सम्बद्ध मन्त्रालय, विदेशी मित्रराष्ट्रहरु, संयुक्त राष्ट्रसंघको मुख्यालय लगायत विदेशी एवं स्वदेशी विषय विज्ञहरुलाई कृतज्ञता व्यक्त गर्नुभयो ।

७. सेमिनारमा समापन मन्तव्यको क्रममा प्रधान सेनापति महारथी शर्माले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भए अनुसार विश्व शान्ति तथा सुरक्षाको स्थापनार्थ नेपाली सेनाको कटिवद्धतालाई थप जोड दिँदै आयोजित सेमिनारले भविष्यमा शान्ति कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सकिने थप सम्भावनाहरु उजागर गरेको बताउनु भएको थियो । शान्ति स्थापनामा खटिने सैनिकहरुको क्षमता अभिवृद्धिमा तालिमको महत्वलाई जोड दिँदै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई Center of Excellence को रुपमा विकास गर्दै लगिने बताउनुभयो । उहाँले उक्त सेमिनारमा उठेका विषयवस्तुहरु, छलफल तथा सुझावहरुबाट विश्व शान्ति स्थापनार्थ शान्ति सैनिक योगदान गर्ने सम्पूर्ण राष्ट्रहरुलाई क्षमता अभिवृद्धिका लागि स्पष्ट अवधारणा बनाउन मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो । 

८. नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापतिहरु, रक्षा सचिव श्री किरणराज शर्मा, परराष्ट्र सचिव श्री भरतराज पौड्याल, विशेष अतिथिको रुपमा पाल्नु भएका संयुक्त राष्ट्रसंघ मुख्यालयको Office of Military Affairs का सैनिक सल्लाहकार General Birame Diop तथा प्रतिनिधिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, विभिन्न मन्त्रालयका सह सचिवहरु, विभिन्न राष्ट्रका राजदूतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, नेपालस्थित संयुक्त राष्ट्र संघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली सेनाका अधिकृतहरु, परराष्ट्र मामिला अध्ययन तथा नेपाल नीति प्रतिष्ठानका प्रतिनिधिहरु, विषयविज्ञ तथा सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको उक्त सेमिनारको दौरान विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका स्वदेशी तथा विदेशी व्यक्तित्वहरुले आ-आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । 

९. नेपाली सेनाद्वारा आयोजित यस प्रकारको सेमिनारले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदान तथा उपलब्धीहरु र भविष्यका लागि शान्ति सैनिकहरुको क्षमता वृद्धिको आवश्यकताका बारेमा सरोकारवाला निकायहरुलाई जानकारी प्राप्त हुनुका साथै नेपाली शान्ति सैनिकहरुको क्षमता अभिवृद्धिमा उक्त सेमिनार कोशेढुङ्गा सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।