१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ भाद्र २६ गते जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रमका बीच नेपाली सेनाका सकलदर्जालाई पदबहालीको एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्नु भएको छ । नेपाली सेनामा कार्यरत उपत्यका भित्रका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा सहभागी रहेको सो कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब-युनिटहरुमा लाइभ मल्टिकाष्ट गरिएको थियो । उक्त सम्बोधनका दौरान प्रधान सेनापति महारथी शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गर्नु भएको थियो । साथै, प्रधान सेनापति महारथी शर्माले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा जानकारी गराउनु भएको थियो ।
२. सम्बोधनकै क्रममा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले, हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिनुभएको थियो । त्यसै क्रममा उहाँले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गर्नुभएको थियो ।
३. प्रधानसेनापति महारथी शर्माले नेपाली सेना सवै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्नुहुँदै राज्यमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको नि:स्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गर्नुभएको थियो । साथै नेपाली सेनाको मूल्य-मान्यताको सम्बर्द्धन र प्रवर्द्धन गर्दै सकलदर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
४. वहाँले निकट भविष्यमा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न समेत निर्देशन दिनुभएको थियो । साथै राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना समय सिमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिनुभएको थियो ।
५. प्रधान सेनापति महारथी शर्माले उक्त सम्बोधन कार्यक्रमको दौरान नेपाली सेनाको कफि टेबल बुक (आ.व. २०७८/७९) र Leaders' Reading Collection को समेत विमोचन गरि उत्कृष्ट लेखकहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको थियो ।