'कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९' शुभारम्भ

१. मिति २०७९ भाद्र ०९ गतेदेखि ऐ. १० गतेसम्म जङ्गी अड्‍डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’आज मिति २०७९ भाद्र ०९ गते सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री श्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको छ ।

२. उक्त कार्यक्रममा मन्तव्य राख्नु हुँदै सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कुरा व्यक्त गर्नु भएको थियो । साथै वहाँले, नेतृत्व तहमा रहेका पदाधिकारीहरुको ईमान्दारी र कर्तव्यपरायणताबाट नै मातहतका फौजको हौसला र मनोवल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिनु भएको थियो ।

३. मन्तव्यकै क्रममा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने तथा सुरक्षा सम्बन्धी विषयमा नीति निर्माणतहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्‍चालनको कार्यलाई अगाडी बढाइएको समेत बताउनु भएको थियो ।

४. कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शान्तिको समयमा संचालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपतकालिन परिस्थितीमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु संचालन गर्दै आइरहेको जानकारी गराउनु भएको थियो । साथै वहाँले, नेपाली सेना मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध लगायत छिमेकी राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनैपनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराउनु भएको थियो । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले, सामरिक महत्त्वका तालिमहरु संचालन गर्न आवश्यक साधारण तथा समन्वयात्मक विषयमा नेपाली सेनाको Professional Autonomy कायम राख्न नेपाल सरकारबाट आवश्यक पहलकदमी हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

५. मन्तव्यकै क्रममा प्रधान सेनापति महारथी शर्माले, नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सम्बन्धित निकायको समन्वयमा श्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिवद्ध रहेको जानकारी गराउनु भएको थियो । सोही क्रममा वहाँले, सफा हिमाल अभियान, Go Green Campaign लगायत विश्व सामु देखिएका विभिन्न चुनौतीहरु मध्ये Food Security, Economic Security तथा Cyber Security जस्ता राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सृजना हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहने र रही रहनु पर्ने समेत जानकारी गराउनु भएको थियो ।

६. सोही अवसरमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री शेर बहादुर देउवाको समुपस्थितीमा नेपाली सेनाका तर्फबाट प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र रक्षा मन्त्रालयको तर्फबाट रक्षा सचिव श्री किरणराज शर्माबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।

७. रक्षा सचिव, जङ्गी अड्‍डाका पि.एस.ओज. रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र अवस्थित बाहिनी अड्‍डाका बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त दुई दिवसीय समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण प्रस्तुत गर्नु हुनेछ ।

८. यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।