प्रधान सेनापतिको औपचारिक भ्रमण सम्पन्न

१. द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा UN Mission हरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारबाट स्वीकृत भ्रमण कार्यक्रम अनुसार मिति २०७९ असार ०४ गतेदेखि ऐ. ०८ (तद्अनुसार 18-22 June, 2022) गतेसम्म लेवनानस्थित United Nations Interim Force in Lebanon (UNIFIL) Mission, मिति २०७९ असार ०८ गतेदेखि ऐ. ०९ (तद्अनुसार 22-23 June, 2022) गतेसम्म सिरियास्थित United Nations Disengagement Observer Force (UNDOF) Mission र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा मिति २०७९ असार १३ गतेदेखि ऐ.१७ (तद्अनुसार 27 June - 1 July 2022) गतेसम्म संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गर्नु भई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरु मिति २०७९ असार १९ गते स्वदेश फिर्ता हुनु भएको छ । 

२. प्रधान सेनापति महारथी शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्की तथा रक्षा सचिव श्री किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा स्वागत गर्नु भएको थियो । साथै, वहाँको सम्मानमा, आज मिति २०७९ असार २० गते जङ्गी अड्‍डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ ।  

३. विभिन्न समयमा हुने गरेका यस किसिमका उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै UN Mission हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने तथा मित्रराष्ट्र अमेरिकाको भ्रमणबाट नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै दुई पक्षीय हित एवं पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।