संयुक्त राज्य अमेरिकाको United States Army Pacific Command (USARPAC) का कमाण्डरद्वारा जंङ्गी अड्‍डा भ्रमण

१. मिति २०७९ जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको United States Army Pacific Command (USARPAC) का कमाण्डर General Charles A. Flynn, ले आज मिति २०७९ जेठ २७ गते जङ्गी अड्‌डाको भ्रमण गर्नु भएको छ । 

२. General Charles A. Flynn को सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो । सोही क्रममा, वहाँले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट गर्नु भएको थियो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

३. उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस ४ (चार) दिने औपचारिक भ्रमणको क्रममा General Charles A. Flynn तथा भ्रमणदलका सदस्यहरु मिति २०७९ जेठ २८ गते हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुनेछन् भने मिति २०७९ जेठ २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी सोही मितिमा स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

४. मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।