"सैनिक आचार संहिता कार्यक्रम-२०७९" सम्पन्‍न

१. मिति २०७९ वैशाख ०७ गतेदेखि संचालन भएको “सैनिक आचार संहिता कार्यक्रम-२०७९” को आज मिति २०७९ वैशाख ०८ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा समापन गर्नु भएको छ । 

२. उक्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको हुँदा यसका लागि नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्यसंस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको जानकारी गराउनु भएको थियो ।

३. सम्बोधनकै क्रममा प्रधान सेनापति महारथी शर्माले सैनिक मूल्य-मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त गर्दै बदलिंदो सामाजिक, राजनैतिक र आर्थिक वातावरणका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सैनिक मूल्य मान्यतामा असर परिरहेको र यो क्रम बढ्दै गएमा यसको दीर्घकालीन असर सङ्गठनमा मात्र सिमित नरही राष्ट्रिय सुरक्षामा समेत पर्ने हुँदा यस विषयमा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जा सजग हुनु पर्ने बताउनु भएको थियो ।  

४. नीति नियमले व्यक्तिलाई सहि मार्गनिर्देशन मात्र गर्ने तर उक्त बाटोमा हिँड्ने काम स्वयम् व्यक्तिको नै भएको जानकारी गराउदै उहाँले कतिपय अवस्थामा सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी सङ्गठन भित्रका विषयवस्तुहरु प्रचार प्रसार हुने गरेको हुँदा त्यसतर्फ सबैले विशेष ध्यान दिई सतर्क रहन जरुरी रहेको बताउनु भई यस किसिमको कार्यक्रमले सैनिक आचरणको गहनतालाई अनुभुति गराउने तथा नेपाली सेनाका सकलदर्जामा एकढिक्कापनको विकास गरी, व्यक्ति र समूहको पेशागत क्षमता अभिबृद्धि सहित भविष्यमा आइपर्न सक्ने राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौतीहरूलाई सामना गर्न हरदम तत्पर रहन निर्देशन समेत दिनु भएको थियो ।

५. नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रम नेपाली सेनाका सबै युनिटहरुमा Live Multicast समेत गरिएको थियो । कार्यक्रम अवधिभरमा नेपाली सेनाका सकलदर्जालाई नेपाली सेनाको मुल्य मान्यताहरु, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, मिडिया तथा सोसल मिडिया प्रयोग, राजनैतिक र अन्य व्यक्तिहरुसँग भेटघाट गर्ने तथा अभिव्यक्ति दिने, आर्थिक कारोवार तथा बजेट, विदेशीहरुसँग सम्पर्क, भेटघाट र अन्तरक्रिया, शिक्षक तथा शिक्षार्थीहरुले पालना गर्नु पर्ने आचार संहिता, भर्ना छनौट, लैङ्गिक आचरण तथा उपहार सम्बन्धि आचार संहिताहरुमा केन्द्रित रही विषयविज्ञहरुबाट प्रस्तुतीकरण भएको थियो । 

६. यस प्रकारको कार्यक्रमले नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई आगामी दिनहरुमा नेपाली सेना थप व्यवसायिक, अनुशासित र उच्च सैनिक आचरण युक्त संगठनको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।