नेपाली सेनाद्वारा “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” र “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” आयोजना

१. नागरिक-सैनिक सम्बन्ध सुदृढ बनाउंदै लैजान एवम् नेपाली सेनाको तर्फबाट खेलकुदको बिकासमा समेत थप टेवा पुर्‍याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा नेपाली सेनाद्वारा “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” र “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” आयोजना गर्न लागेको छ । २. नेपाली सेनाद्वारा आयोजित “प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२” मिति २०७२ फागुन ०९ गतेदेखि मिति २०७२ फागुन १४ गतेसम्म श्री सैनिक शारीरिक तालिम तथा खेलकुन्द्र केन्द्रको कर्भडहल, लगनखेलमा संचालन हुनेछ । उक्त प्रतियोगितामा नेपाली सेनाको "ए" र "बि" टिम लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई घरेलु विभागिय टिम तथा विगतका पांच विकाश क्षेत्रका पांच भलिबल टिमगरी जम्मा नौ टिमको सहभागिता रहनेछ । खेलाडीहरुको मनोवल उच्च राख्न एवम् थप हौसला प्रदान गर्न नेपाली सेनाले विजेता खेलाडीहरुलाई १० हजार देखि ३ लाखसम्मको नगद पुरस्कार र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाईकल प्रदान गर्ने योजना गरेको छ । ३. त्यसैगरी, नेपाली सेनाले Run For Fun को रुपमा मिति २०७२ फागुन २२ गते शनिबार रक्षा मन्त्रालय, खेलकुद मन्त्रालय, मुख्य सचिवको नेतृत्वमा सम्पूर्ण मन्त्रालयका उप-सचिवभन्दा माथिको कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, सैनिक सहचारी र कुटनीतिक नियोगका प्रमुखहरु, पत्रकार खेलकुद मञ्च, राष्ट्रिय कलाकारहरु, बिद्यालयका छात्र/छात्राहरु लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरुलाई सहभागी गराई “प्रधान सेनापति प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिता २०७२” आयोजना गर्न लागेको छ । जसअन्तर्गत, म्याराथन ४२.१९५ कि.मि. (पुरुष) खुल्ला, हाफ म्याराथन (२१ कि.मि. महिला/पुरुष) खुल्ला, १० कि.मि. (सैनिक सहचारी/विदेशी र सैनिक अधिकृतहरु), ५ कि.मि. (सैनिक बिद्यालयका छात्र/छात्रा र उपत्यका भित्रका सकलदर्जाका छोराछोरीहरु), ५ कि.मि. वाकाथन (नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र निजामती उच्च पदाधिकारीहरु) विधाहरु समावेश गरिएको छ । खेलाडीहरुको मनोवल उच्च राख्न एवम् थप हौसला प्रदान गर्न नेपाली सेनाले विजेता खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको छ । ४. यस किसिमको प्रतियोगिताले नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्धत पुग्नुको साथै खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।