Nepalese Army Judge Advocate General

श्री प्राड विवाकको कार्यालयले आफ्नो स्थापनाको ५४ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको "प्राड विवाक जर्नल, २०७३" को मिति २०७३।०६।०७ गते जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश श्री सुशिला कार्की र प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट संयुक्त रुपमा विमोचन सम्पन्न भएको छ ।

 

सैनिक कानून र न्यायका विविध क्षेत्र समेटेर प्राड रथीवृन्द तथा अधिकृतहरु र न्याय क्षेत्रमा कायर्रत विशिष्ट व्यक्तिहरुबाट सिर्जना गरिएका लेख रचनाहरु तथा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएका फैसलाहरु उपर पुनरावेदनको रोहमा श्री सैनिक विशेष अदालतबाट भएका फैसलाहरु समाविष्ट रहेको प्राड विवाक जर्नल प्राड विवाकको नियमित वार्षिक प्रकाशनको रुपमा केहि वर्षदेखि नियमित रुपमा प्रकाशन हुदैं आएको छ ।

 

विमोचन समारोहको सुरुवातमा सेना प्राड विवाक प्राड उपरथी श्री होम कुमार लावतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने तत्पश्चात प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री सैनिक विशेष अदालतका पूर्व सदस्यहरुलाई नेपाली सेनाको तर्फबाट सम्मानपत्र प्रदान गर्नु भएको थियो । विमोचन समारोहमा श्री सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहहरु, पुनरावेदन अदालतका मुख्य न्यायाधीश, रक्षा सचिव, कानून सचिव लगायतका नेपाल सरकारका सचिवहरु, नायव महान्यायाधिवक्ताहरु, श्री पुनरावेदन अदालतका माननीय न्यायाधीशहरु, वरिष्ठ रथीवृन्द, अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अदालतका माननीय न्यायाधीशहरु, विभिन्न मन्त्रालयका कानून अधिकृतहरु, सरकारी वकिलहरु, कानूनविदहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

 

"प्राड विवाक जर्नल २०७२" को संयुक्त रुपमा विमोचन गर्नुहुंदै श्री सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश श्री शुशिला कार्की र प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री

श्री प्राड विवाकको ५४ औं वार्षिकोत्सवको अवसरमा कानूनका विविध आयामसंग सम्बन्धित विषयवस्तु समेटि मिति २०७३।०६।०२ गतेदेखि ०५ गतेसम्म जङ्गी अड्डामा "लिगल सेमिनार २०७३" को आयोजना भएको थियो ।

 

मिति २०७३।०६।०२ गते बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाबाट विधिवत रुपमा शुभारम्भ भएको लिगल सेमिनारमा जङ्गी अड्डा लगायत विभिन्न पृतना/बाहिनीमा कार्यरत प्राड अधिकृत तथा प्राड पदिकहरुको सहभागिता रहेको थियो ।

 

 

सेमिनारमा मुलत: अनुसन्धान तहकिकात, अभियोजन, न्याय सम्पादन, फैसला लेखन र संक्रमणकालिन न्याय सम्बन्धी विषयमा विज्ञहरुबाट प्रस्तुतिकरण भएको थियो ।

 

मिति २०७३।०६।०५ गते सेमिनारमा सहभागीहरुलाई प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट संवोधन भएको । संवोधनको क्रममा प्रधान सेनापतिले सेमिनारबाट प्राड अधिकृत तथा पदिकहरुको पेशागत दक्षता तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्दै प्रचलित कानूनी व्यवस्थाको साथै कानूनका स्थापित सिद्धान्त एवं मान्यता समेतको आधारमा सैनिक न्याय प्रशासन संचालनको मुख्य अभिभारामा आफ्नो कार्यक्षेत्रमा व्यवसायिक रुपले प्रभावकारी भूमिका निर्वाह गर्नको लागि सेमिनारमा सहभागी प्राड अधिकृत तथा पदिकहरुलाई निर्देशन दिनु भएको थियो ।

 

मिति २०७३।०६।०५ गते नै सेना प्राड विवाक प्राड उपरथी श्री होम कुमार लावतीबाट सेमिनारको विधिवत रुपमा समापन भएको थियो ।

JAG-Major-General
Constitution, Army Act & Army Rules
Army Related Supreme Court’s Decisions
Important Links